काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलहरूमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ ।
शुक्रबार सिंहदरबार मा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयकाअनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरु कहीँ कतै पनि अप्ठ्यारोमा रहेका छैनन् । नेपाल आउन चाहने कुनै पनि नेपालीलाई नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स लगायतबाट स्वदेश फर्काउने काम भइरहेकाले त्यस्ता खालका कुनै समस्या भए पनि त्यो छिट्टै समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ ।
परराष्ट्र मन्त्रालयको प्रवक्ता पौडेलले भने- ‘अहिले पश्चिम एसिया क्षेत्रमा कहीँ पनि नेपाली नागरिकहरू ट्रान्जिटमा रहनुभएको भन्ने हामीलाई जानकारी छैन । माननीय परराष्ट्र मन्त्रीज्युको पहलमा नेपालको हवाई सेवा प्रदायकहरुसँगको निर्णयअनुसार नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्सलगायतले जन उडान सुरु गर्ने भन्ने थियो । त्यो सुरु भइसकेकाले यो समस्या छिटै समाधान हुँदै जानेछन् ।’
मन्त्रालयकारअनुसार स्वदेश फर्कन चाहने नेपालीहरूको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ ।
यसैगरी कतार सरकारले रमजान पर्वको अवसर पारेर तीन जना नेपालीलाई आममाफी प्रदान गरेकोमा नेपाल सरकारले कतारप्रति आभार व्यक्त गरेको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको रमजानका अवसरमा कतारले विभिन्न देशका कैदीबन्दीलाई यस प्रकारको आममाफी दिने परम्परा रहँदै आएको छ।