Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले भन्यो- इरानी कब्जामा रहेका अमृत झाको रिहाइ लागि समन्वय भइरहेको छ, बाँकी नेपाली सुरक्षित छन्

परराष्ट्र मन्त्रालयले भन्यो- इरानी कब्जामा रहेका अमृत झाको रिहाइ लागि समन्वय भइरहेको छ, बाँकी नेपाली सुरक्षित छन्

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । सरकारले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अमृत इरानको वर्तमान अवस्था र कानूनी प्रक्रियाका कारण केही समय लाग्ने देखिए पनि इरानी परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी गराएको हो ।

अमृत दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका थिए । इजरायल-अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि नै इन्धन ल्याउन  इरान पुगेका झालाई इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा नियन्त्रणमा लिएको थियो ।

परराष्ट्र मन्त्रालयले पश्चिम एशियाको पछिल्लो अवस्था क्रमशः सामान्यीकरणतर्फ उन्मुख भइरहेको र त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्था सुरक्षित रहेको पनि स्पष्ट पारेको छ ।

इरानमा रहेका ११ जना नेपालीमध्ये १० जना तेहरानमा सुरक्षित रहेको र उनीहरू दोहास्थित नेपाली नियोगको नियमित सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि स्वदेश फर्कने तयारीमा रहेका दुई जनाले समेत हाललाई टिकट रद्द गरी तेहरानमै बस्ने निर्णय गरेको जानकारी मन्त्रालयलाई प्राप्त भएको छ ।

यसैगरी मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार युएईको फुजेरामा भएका केही छिटपुट घटनाबाहेक समग्र सुरक्षा अवस्था सकारात्मक रहेको छ । मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्क भइरहेको उनले बताए ।

कन्ट्रोल रुममा हालसम्म ३२३ पटक कल, इमेल र म्यासेजमार्फत सम्पर्क भएको छ । तर पछिल्लो ४८ घण्टामा कुनै नयाँ सम्पर्क नभएको जानकारी दिँदै प्रवक्ता क्षेत्रीले यसले स्थिति सामान्य बन्दै गएको बताए ।

यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा हालसम्म ८७ हजार ५५१ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । पछिल्लो १५ दिनमा ३२ जनाले मात्र थप विवरण दर्ता गराएको तथ्याङ्कले नयाँ समस्या न्यून रहेको देखाएको उनको भनाइ छ । प्रवक्ता क्षेत्रीले पश्चिम एशियामा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि मन्त्रालय निरन्तर सजग रहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077