काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।
विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।
कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । जसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।
आन्दोलन सफल भएपछि उनी चौथोपटक प्रधानमन्त्री बनेका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो ।