काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत हेरेर शपथ ग्रहण गर्ने परम्पराप्रति असन्तुष्टि जनाएका छन् ।
भावी प्रधानमन्त्री बालेन शाहले तोकिएको शुभसाइतमै शपथ लिने तयारी गरेको खबर सार्वजनिक भएपछि खनालले यस्तो टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले भने, “यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ! हामीलाई त साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन । तर पनि इतिहासमै पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो।”
यसबीच बालेन शाहको सचिवालयले राष्ट्रपति कार्यालयलाई १३ गते दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण गर्ने जानकारी गराइसकेको छ। सो समारोहलाई धार्मिक र सांस्कृतिक रूपमा भव्य बनाउने तयारी गरिएको छ।
कार्यक्रममा १०८ जना बटुकद्वारा स्वस्ति वाचन गरिनेछ भने १०७ जना बौद्ध लामा गुरुबाट मंगलवाचन गराइनेछ। साथै ७ जना ब्राम्हणद्वारा शंखनाद गरिने तयारी छ, जसले समारोहलाई सनातन परम्पराअनुसार गुन्जयमान बनाउने जनाइएको छ।