काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै सञ्चारमाध्यममा 'लिक' भएको छ ।
यस विषयमा जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सामाजिक सञ्जालमार्फत राज्यको सुरक्षा र सूचना संयन्त्र कमजोर भएको आरोप लगाएकी छन् ।
संयोजक बमले प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरिएकै अवस्थामा विभिन्न सञ्चारमाध्यममा अंश आउनु सरकारका सुरक्षा र सूचना संयन्त्रको असफलता भएको भन्दै यसलाई 'नाङ्गो प्रमाण' भनेकी छन् ।
उनले सरकार अझै साइत हेरेर औपचारिकता पालना गर्दै प्रतिवेदन सार्वजनिक गर्न ढिला गरिरहेको आरोप पनि लगाएकी छन् ।
त्यस्तै जेन जी अभियान्ता तनुजा पाण्डेले प्रतिवेदन ‘लिक भिडियो’बाट थाहा पाउनु प्रधानमन्त्रीको सुशासनको परिभाषा हो कि भन्ने प्रश्न उठाएकी छन्। उनले आधा–आधा अंश पढेर, आधा सत्य हेरी भदौ २३ र २४ का घटनाबारे स्वतन्त्र निष्कर्षमा पुग्नु पर्ने अवस्था आएको बताए।
तनुजा पाण्डेले झुटभन्दा आधा सत्य खतरनाक हुने भन्दै देशको मजाक नबनाउन र शहीदको रगत सस्तो नबनाउन सरकारलाई आह्वान गरेकी छन् ।