Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्बासी बस्ती हटाउने सरकारको अभियानमा रक्षा बम असहमत, भनिन् - बालेन भत्काउन खुब सिपालु छन्

सुकुम्बासी बस्ती हटाउने सरकारको अभियानमा रक्षा बम असहमत, भनिन् - बालेन भत्काउन खुब सिपालु छन्

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले हालै काठमाडौँ महानगर क्षेत्रमा गरिएको सुकुम्वासी बस्ती हटाउने कार्यप्रति कडा आलोचना गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सुकुम्वासी व्यवस्थापनको नाममा गरिएको प्रक्रिया विधिसम्मत र मानवीय दुवै दृष्टिले प्रश्नयोग्य रहेको दाबी गरेकी हुन् ।

उनका अनुसार बस्ती हटाउनुअघि वास्तविक सुकुम्वासी पहिचान गर्ने, उनीहरूको पुनर्स्थापना सुनिश्चित गर्ने र नक्कली अतिक्रमणकर्तामाथि कानुनी कारबाही गर्ने अवसर सरकारले गुमाएको छ ।

'केही समय दिएर तथ्याङ्क संकलन र प्रमाणीकरण गर्न सकिन्थ्यो, जसले वास्तविक सुकुम्वासीलाई मर्यादासहित पुनर्स्थापित गर्ने बाटो खोल्थ्यो,' उनले भनिन्, 'तर अहिलेको कदम हतारमा गरिएको र दीर्घकालीन समाधानभन्दा बढी विस्थापन केन्द्रित भयो । सही सुकुम्वासीलाई सम्मानजनक पुनर्स्थापना गर्न सकिन्थ्यो, तर त्यो अवसर गुमाइयो ।'

उनले प्रधानमन्त्री बालेन शाहको भूमिकाबारे पनि टिप्पणी गर्दै विगतमा सुरु गरिएका कामलाई निरन्तरता र संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन् ।

तर उनले गलत रूपमा प्रयोग गरिएको “सरकार” वा “प्रधानमन्त्री” सम्बन्धी सन्दर्भप्रति पनि संकेत गर्दै स्थानीय तह र संघीय सरकारबीचको भूमिकामा स्पष्टता आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् ।

उनले भनिन्, 'बालेनले हिजो मेयर हुँदा पूरा गर्न नसकेको कामलाई आज प्रधानमन्त्री हुँदा जुन हतारका साथ बस्ती खाली गराउन राज्यको सिंगो संयन्त्र लगाएका छन् , यो हतार नै के का लागि हो ? खैर, उनी भत्काउन खुब सिपालु छन् ।'

सुकुम्वासी बस्ती हटाइँदा परेको झरी, सामानको विस्थापन र अस्थायी बसोबासको अवस्थाले बालबालिका तथा वृद्धवृद्धामा मनोवैज्ञानिक असर परेको विषय पनि उनले उठाएकी छन्।

उनले प्रश्न गरेकी छन्,'अस्थायी रूपमा लजमा राखिएका नागरिकलाई कति दिन र कसरी दीर्घकालीन आवास र रोजगारीको सुनिश्चितता हुनेछ ?'

बमका अनुसार विकास प्रक्रियामा सहनशीलता, धैर्य र मानवीय दृष्टिकोण अनिवार्य हुन्छ । 'बनाउने काममा प्रेम र सद्भाव चाहिन्छ, केवल भत्काउने शैलीले समाधान दिँदैन,' उनको भनाइ छ।

उनले विगतका सरकारहरू पनि विधि उल्लंघनबाट अछुतो नरहेको उल्लेख गर्दै अहिलेको नेतृत्वले त्यही बाटो नदोहोर्‍याओस् भन्ने अपेक्षा व्यक्त गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077