काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेनजी अभियन्ता रक्षा बमले सुकुमबासी बस्तीको अवस्थाबारे प्रश्न उठाएकी छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले सुकुमबासी बस्ती हटाउने तयारीका बीच नेतृत्वको भूमिकामाथि प्रश्न गर्दै प्रत्यक्ष संवादको माग गरेकी हुन् । उनले रवि लामिछानेलाई भोलि सुकुमबासी बस्तीमा छाती थाप्न आउन चुनौती दिइन् ।
“आदरणीय रवि लामिछानेज्यू, भोलि छाती थाप्न आउनुहुन्छ नि यहाँ ?” भन्दै सुरु गरिएको सन्देशमा उनले सुकुमबासीहरू त्रासमा रहेको उल्लेख गरेकी छन् ।
'तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्ने आवाज सुनिन थालेको छ,' भन्दै उनले राजनीतिक दलहरू सुकुमबासीलाई ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गर्दै आएको आरोप दोहोर्याएकी छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुराना दलहरूभन्दा फरक देखिन नसकेको टिप्पणी गर्दै सिधै सुकुमबासीसँग संवाद गर्न नेतृत्वलाई आग्रह गरेकी छन्।
“सभापतिज्यू, सिधा कुरा सुकुमबासीसँग कहिले गर्नुहुन्छ ? भोलि आउनुस्,” भन्ने आह्वानमार्फत उनले प्रभावित समुदायसँग प्रत्यक्ष भेटघाट गर्न चुनौतीसमेत दिएकी छन् ।
बालेन सरकारले थापाथली, गैह्रिगाउँ र मनहरा खोला किनारका बस्ती खाली गराउने निर्णय गरिसकेको छ ।