Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लेखक पक्राउपछि कांग्रेसमा सुरु भयो थप विवाद, पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी

लेखक पक्राउपछि कांग्रेसमा सुरु भयो थप विवाद, पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी

आइतवार , चैत्र १५, २०८२

काठमाडौं। नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेको विषयलाई पार्टीले गम्भीर रूपमा लिएको जनाएको छ । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार बिहान पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

उनीहरुलाई पक्राउ गरिएपछि १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूहका डा. शेखर कोइराला समूहबाट कार्यवाहक सभापतिका रूपमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेका थिए । 

यद्यपी गत पुस ३० गते विशेष महाधिवेशनमार्फत गगनकुमार थापा पार्टीको सभापति चयन भएका थिए।

थापा सभापति भएसँगै देउवापक्षले पार्टीको आधिकारकिता आफूले पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। निर्वाचन आयोगले भने थापा पक्षको कांग्रेसलाई आधिकारिकता दिएको थियो। 

तरपनि नयाँ नेतृत्व चयनपछि पार्टी सत्ताबाट बाहिरिएका देउवा–डा. कोइराला समूहको तर्फबाट निकालिएको विज्ञप्तिमा खड्काले आफ्नो पद कार्यवाहक सभापति उल्लेख गर्नुका साथै पार्टीको लेटरप्याड पनि प्रयोग गरेका छन् । 

लेखक पक्राउपछि जारी विज्ञप्तिमा पक्राउ बारे देउवा र थापा पक्षका फरक-फरक धारणा छन् । 

देउवा पक्षका खड्काको विज्ञप्तिमा लेखकको पक्राउको विरोधमा सशक्त आन्दोलन गर्ने उल्लेख छ । त्यसका लागि नेता कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिइएको छ । 

थापा पक्षका प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमा लेखक पक्राउको सन्दर्भमा पार्टीको आन्तरिक समीक्षा र भविष्यको राजनीतिक रणनीतिको विषय उठाइएको छ । साथै निर्णय प्रक्रियामा 'थप सचेत र जिम्मेवार’ बन्नुपर्ने आवश्यकता रहेको उल्लेख छ । 

पार्टीभित्रको यस घटनाले कांग्रेस एक छैन भन्ने संका पैदा गरेको छ । 

यसै विषयलाई लिएर आइतबार दिउँसो पदाधिकारीहरूको अनौपचारिक बैठक बस्ने लागेको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए ।

उनले भने- 'एउटा संवैधानिक चरण पार गरेर आम निर्वाचनमार्फत देश पनि अगाडि बढेको छ। पार्टी पनि अगाडि बढेको छ। यो बेलामा यसरी पार्टीको अफिसयल्ली विज्ञप्ति जारी गर्ने कुरा पार्टीको मर्यादा र अनुशासनभित्रको कुरा होइन। उहाँले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय हो। हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077