काठमाडौं । प्रतिनिधिसभा सदस्य आसिका तामाङले बढ्दो महँगीका बीच इन्धनमा लगाइएको कर पुनरावलोकन गरी घटाउन सरकारसँग आग्रह गरेकी छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले इन्धन मूल्य वृद्धिले दैनिक जीवनमा प्रत्यक्ष असर परेको बताइन् । उनका अनुसार इन्धनको मूल्य बढेसँगै यातायात भाडा, खाद्यान्न मूल्य र अन्य आधारभूत खर्चमा व्यापक वृद्धि भएको छ, जसले आम नागरिकलाई थप मारमा पारेको छ।
विश्वव्यापी ऊर्जा संकटका कारण इन्धन मूल्य निरन्तर उकालो लागिरहेको सन्दर्भ उल्लेख गर्दै तामाङले अन्य मुलुकहरूले भने नागरिकलाई राहत दिन कर कटौतीको नीति अपनाएको उदाहरण दिइन्।
अस्ट्रेलिया, भारत, इटाली, स्पेन र भियतनामजस्ता देशहरूले इन्धनमा लगाइने कर घटाएर जनताको बोझ कम गर्ने प्रयास गरेको उनले बताइन्।
“राजस्व संकलन राज्यको आवश्यकता हो, तर नागरिकको जीवन सहज बनाउनु उत्तिकै महत्वपूर्ण दायित्व हो,” उनले लेखेकी छन्, “यही सन्तुलन कायम गर्नु अहिलेको मुख्य आवश्यकता हो।”
तामाङले इन्धन कर पुनरावलोकन गरी यथासम्भव घटाउन र मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेकी छन्। समयमै उचित निर्णय लिएमा नागरिकले राहतको अनुभूति गर्ने विश्वास उनले व्यक्त गरेकी छन्।