काठमाडौं। नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार जारी निर्देशन अनुसार आइतबार अस्पतालका बहिरङ्ग ९ओपीडी० सेवा दिन नसकिने बताएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको थियो ।
सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको थियो ।
आइतबार काम गर्ने कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन नै बिदा पाउने गरी व्यवस्था मिलाउन भन्दै उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागु गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरेको थियो ।
तर संघका महासचिव डा. सन्जिव तिवारीले एक विज्ञप्ति जारी गर्दै सरकारले हप्ताको २ दिन शनिबार र आइतबार सरकारी बिदा दिने निर्णय गरेको भए पनि अस्पतालले आइतबारको हकमा आफ्नो जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकामा जनशक्ति नथपिएकाले आइतबार सेवा दिन नसकिने बताएका हुन् ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९–५ ड्युटी बाहेक अनकल, राउन्ड, इमरजेन्सीलगायतका लगायतका सेवा २४ सै घण्टा प्रदान गरिरहेको बताउँदै यस्तो समय गणना नहुनु अन्यायपूर्ण रहेको जनाएको छ । स्वास्थ्य संस्थामा जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको आइतबार सेवा दिने अनुरोध कार्यान्वयन गर्न नसकिने संघको दाबी छ ।