एजेन्सी । इजरायल–लेबनानबीचको युद्धविराम थपिएको दुई दिन नबित्दै अवस्था पुनः तनावग्रस्त बनेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा सक्रिय हिजबुल्लाहका अड्डाहरूलाई लक्षित गर्दै ‘ठूलो आक्रमण’ गर्न सेनालाई निर्देशन दिएका छन् ।
यो निर्देशन इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा गरेको पछिल्लो आक्रमणपछि आएको हो, जसमा कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। युद्धविराम तीन हप्ताका लागि थपिएको भए पनि सीमापार आक्रमणहरू जारी रहँदा उक्त सम्झौता कमजोर अवस्थामा पुगेको देखिएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार नाबाटियाह जिल्लाको योहमोर अल–शकीफमा ट्रक र मोटरसाइकललाई लक्षित गरी गरिएको आक्रमणमा चार जनाको ज्यान गएको छ।
त्यस्तै बिन्त जुबैल जिल्लाको सफद अल–बाटिकमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्।
यता इजरायल रक्षा बलले भने हतियार बोकेको गाडीमा सवार तीन जना हिजबुल्लाहका सदस्यलाई ‘निष्क्रिय’ बनाएको दाबी गरेको छ। साथै मोटरसाइकलमा सवार अर्का एक सदस्य पनि मारिएको जनाएको छ।