काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवाको तयारी अघि बढाएको छ।
अवधि पुगेका कार्यालय प्रमुखहरुको सरुवा गर्न लागिएको हो। इन्सपेक्टरदेखि एसएसपीसम्मको सरुवाको तयारी भइरहेको प्रहरी महानिरीक्षक निकट स्रोत बताउँछ ।
एक वर्ष अवधि पुगिसकेका इन्चार्जहरूलाई सरुवा गर्न लागिएको हो । जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुख पनि फेरिने छन्। काठमाडौं र ललितपुरका एसएसपीको पनि सरुवा तयारी भइरहेको स्रोत बताउँछ ।
दुवैको ८ महिना पुरा भइसकेको छ। काठमाडौं परिसरका प्रमुखहरु यसअघि ६ महिनामै हट्ने गरेका थिए। रमेश थापाले त्यो भन्दा लामो समय नेतृत्व गरिसकेका छन्।
काठमाडौं परिसरको प्रमुखका लागि आधा दर्जन एसएसपीहरू दौडधुपमा छन्।
त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीको एक वर्ष हुन लागिसकेको छ। विभिन्न तालिम केन्द्रका एसएसपीको पनि हेरफेर तयारी भइरहेको छ।
कार्यक्षमतामा कमजोर रहेका केही एसपीहरु पनि हेरफेर हुने सम्भावना छ। सुनसरीका केशव थेवेको विषयमा उजुरी नै परेको प्रहरी स्रोत बताउँछ ।
त्यस्तै, विभिन्न जिल्लाका डिएसपी पनि हेरफेरको तयारी छ । तराईका जिल्लामा ट्राफिक इन्चार्ज भएर जानका लागि इन्सपेक्टरहरू धाइरहेका छन्।
हाल गृहमन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्दै आएका छन्।
प्रधानमन्त्रीले प्रहरीको सरुवामा कुनै चासो दिएका छैनन्। उनको सचिवालसँग समन्वय गरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवाको तयारी गरेका छन्।