काठमाडौं । प्रहरीले ठेकदार रमेश शर्मालाई पक्राउ गरेको छ। ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्मा पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।
सहरी विकास मन्त्रालयको अनुरोधमा उनलाई पक्राउ गरी मन्त्रालयमा नै पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए।
यो कम्पनीहरूले दर्जनौ सरकारी ठेक्का हात पारेको छ । कर्मचारीसँग मिलेर ठेक्का हत्याउने तर समयमा काम नगर्ने प्रवृत्तिका कारण शर्मा एण्ड कम्पनी बदनाम छ।
हालै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी सर्भर नै ह्याक गरेर ठेक्का हत्याउने ठेकदारहरूलाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ। यसमा शर्मा पनि तानिने सम्भावना छ।
आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो । शर्मालाई गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।