नुवाकोट । नुवाकोटमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको म्यागङ गाउँपालिका-४ म्यागङबेशीस्थित म्यागङबेशीस्थित एक छहरामा बुधबार बिहान करिब साढे १० बजे दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार मृतक स्थानीय ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ हुन् ।
प्रहरीका अनुसार दुवै जनाको शरीरमा भरुवा बन्दुकको छर्रा लागेको जस्तो चोट देखिएको छ ।
छातीसहित शरीरका विभिन्न भागमा छर्रा लागेको प्रारम्भिक अवलोकनबाट खुलेको डीएसपी लामाले बताए ।
'भरुवा बन्दुक प्रहार भएको जस्तो देखिन्छ । घटनाको प्रकृति हेर्दा रातिको समयमा घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ,' उनले भने ।
घटनापछि प्रहरीले क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।