एजेन्सी । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण कम्तीमा १३१ जनाको मृत्यु भएको छ ।
अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । यद्यपि यसलाई महामारीको स्तर भने नरहेको डब्लुएचओले जनाएको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार हालसम्म ५१३ भन्दा बढी शंकास्पद संक्रमित फेला परेका छन् ।
सन् १९७६ यता कंगोमा इबोला भाइरस देखिएको यो १७ औँ पटक हो । कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाले इबोलाका कारण मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् ।
बुन्डिबुग्यो प्रजाति इतिहासमा तेस्रो पटक मात्र पहिचान गरिएको र यसको कुनै प्रमाणित खोप उपलब्ध नभएको उनको भनाइ छ।
यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
डब्लुएचओले यो अवस्था अझै फैलिन सक्ने भन्दै कंगो र युगान्डालाई सीमाक्षेत्रमा स्वास्थ्य परीक्षण कडा बनाउन आग्रह गरेको छ । साथै छिमेकी देशहरूलाई पनि स्वास्थ्य निगरानी र तयारी सुदृढ गर्न भनिएको छ ।
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीमा २८ हजार ६ सयभन्दा बढी संक्रमित भएका थिए भने ११ हजार ३२५ जनाको मृत्यु भएको थियो ।
यसमा शुरुमा ज्वरो आउने र पछिल्लो चरणमा मात्र रक्तश्राव हुने लक्षण देखिन्छ । इबोला भाइरस अत्यधिक संक्रामक मानिन्छ, जसले उच्च ज्वरो, बान्ता, झाडापखाला र गम्भीर अवस्थामा शरीरका भित्री तथा बाहिरी अंगबाट रक्तश्राव गराउँदछ ।