काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाली भलिबलकी राष्ट्रिय खेलाडीसमेत रहेकी पुनम चन्दसहित ११ जनालाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्नका लागि सूचित गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गर्दै तीनजना प्रहरी सहायक हवल्दारसहित ११ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
लामोसमयदेखि सम्पर्कबिहीन रहेका ११ जना प्रहरीहरु गैर हाजिर भएको भन्दै हेडक्वार्टरले सम्पर्कमा आउन सूचित गरेको जनाएको छ । प्रहरी मुख्यालयले यदि सूचनालाई बेवास्ता गरेर सम्पर्कमा नआए सेवाबाट हटाउने समेत चेतावनी दिएको छ ।
प्रहरीको निकालेको सूचनामा सम्पर्कबिहीन नेपाली राष्ट्रिय भलिबल टिमकी महत्वपूर्ण सदस्य रहेकी पुनम चन्द पनि परेकी छिन् । उनी केही महिनाअघि नै अस्ट्रेलिया पुगिसकेकी छिन् ।
अन्य केही विभागका खेलाडीहरुले राजीनामा दिएर अस्ट्रेलिया गए पनि पुनम भने बिना जानकारी अस्ट्रेलिया पुगेको यतिबेला खुलेको छ । प्रहरीको शारिरीक सुगठन तथा खेलकुद शिक्षालयमा दरबन्दी रहेकी कञ्चनपुर भिमदत्त–६ की पुनम २०८२ को चैत १५ गतेदेखि सम्पर्कबिहीन रहेको भन्दै हेडक्वार्टरले ७ दिने सूचना जारी गरेको हो ।
पुनम पछिल्लोपटक अस्ट्रेलियास्थित म्याग्दी ओभरसिज नेप्लीज एशोसिएसनको एक प्रतियोगितामा सहभागी भएको खुलेको थियो । पुनम अस्ट्रेलिया पुगेर क्लब भलिबल खेल्न थालिसकेको केही महिना बितिसकेको छ, यता नेपाल प्रहरीले भने ७ दिने सूचना प्रकाशित गरेको छ ।
यतिबेला नेपालमा महिला भलिबलको काभा च्याम्पियनसिप चलिरहेको छ । नेपाल सेमिफाइनल प्रवेश गरिसकेको अवस्था छ । नेपालले अघिल्ला काभामा सहभागी केही प्रमुख खेलाडीहरु बिना प्रतिस्पर्धा गरिरहेको छ ।
पुनमसँगै राष्ट्रिय भलिबल टिमकी पूर्वकप्तान अरुणा शाही, खेलाडीहरु, सरस्वती चौधरी, कविता भट्ट, पुरुष भलिबलका मानबहादुर श्रेष्ठलगायत कैंयौं खेलाडीहरु विदेशीएका छन् ।
को–को छन् सम्पर्कविहीन सूचीमा ?
प्रहरी प्रधान कार्यालयले पछिल्लोपटक प्रकाशन गरेको सम्पर्कविहीन सूचीमा रामसकल रावल, ओमबहादुर चौधरी थारु, नरजंग वली, पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नविन कोइराला, राहुलकुमार साहु, राजकुमार गुरुङ र विशाल कुँवर रहेका छन् ।
