काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा ठूलो परिमाणमा अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको छ ।
सोमबार साँझ गरिएको विशेष छापामारीमा प्रहरीले करिब ६ करोड रुपैयाँ बराबरका २८ हजार ५ सय थान भेप नियन्त्रणमा लिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामको पसल र त्यससँग सम्बन्धित दुईवटा गोदाममा छापा मारेर भेप बरामद गरिएको हो ।
गोप्य सूचनाका आधारमा गरिएको अपरेसनपछि ठूलो परिमाणमा भेप फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
बरामद सामग्रीलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको छ । यस प्रकरणमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनी अवैध रूपमा भेप निर्यात तथा कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले बरामद सामग्री र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ ।