काठमाडौं । सांसद कृष्णहरी बुढाथोकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको साताको दुई दिन बिदा व्यवस्था व्यवहारिक नभएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रामेछापमा अभिभावक, शिक्षक तथा स्थानीय नेतृत्वसँग भएको छलफलमा शनिबार–आइतबार दुई दिन बिदाप्रति व्यापक असन्तुष्टि देखिएको बताएका हुन् ।
उनले दुई दिन बिदाका कारण विद्यार्थीहरू पढाइभन्दा बाहिर अल्मलिने, नियमित अध्ययन कमजोर हुने तथा पाठ्यक्रमको अध्यापन प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आफूले सुनेको उल्लेख गरे।
सांसद बुढाथोकीका अनुसार स्वास्थ्य क्षेत्रमा पनि दुई दिन बिदाले सर्वसाधारणलाई आकस्मिक सेवा लिन समस्या भइरहेको छ। उनले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरू उपचार सेवाबाट प्रभावित भएको बताए।
“शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा दुई दिन बिदा उपयुक्त देखिएन,” उनले संसद्मा भने, “सरकारले यो निर्णय पुनर्विचार गर्न आवश्यक छ।”
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा साताको दुई दिन बिदा लागू हुँदै आएको छ।