काठमाडौं । प्रतिनिधिसभा बैठक तनावपूर्ण अवस्थापछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिनिधिसभाको नियमावली पारित गर्ने कार्यसूची अघि बढाउने क्रममा सत्ता र प्रतिपक्षबीच तीव्र विवाद भएपछि संसद्मा अवरोध र धकेलाधकेलको स्थिति सिर्जना भएको हो ।
बैठकमा विपक्षी सांसदहरूले नियमावलीमाथि थप छलफल आवश्यक रहेको भन्दै प्रक्रिया स्थगन गर्न माग गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउने प्रयास गरेपछि विवाद चर्किएको हो।
विपक्षी सांसदहरू रोस्ट्रम घेराउमा उत्रिएपछि सभामा असहज अवस्था सिर्जना भएको थियो। सभामुखले निरन्तर बैठक सञ्चालन गर्ने प्रयास गरे पनि विपक्षी सांसदहरूले विरोध जारी राखेका थिए।
स्थिति झनै तनावग्रस्त बनेपछि केही विपक्षी सांसदहरू रोस्ट्रमतर्फ अघि बढ्दै कुर्सीमा चढेर सभामुखको आसन नजिक पुग्ने प्रयास गरेका थिए। त्यसपछि मर्यादापालकहरूले सभामुखलाई घेरेर सुरक्षा दिएका थिए।
यसैबीच सभामुख अर्यालले मर्यादापालकको घेराभित्र बसेर बैठक सञ्चालन गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन सत्तापक्षका सांसदहरू पनि उठेर प्रतिवादमा उत्रिन खोजेका थिए।
यस क्रममा रास्वपाका सांसद अशोक चौधरी सिटबाट उठेर अघि बढ्न खोजे पनि सत्तापक्षका अन्य सांसदहरूले उनलाई रोकेको बताइएको छ।
बैठकको कार्यसूचीअनुसार आज प्रतिनिधिसभा नियमावली पारित गर्ने तयारी गरिएको थियो।