Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध बहुमत सांसदको अविश्वास प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध बहुमत सांसदको अविश्वास प्रस्ताव दर्ता

मंगलवार , जेठ १९, २०८३

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहलाई दल नेतृत्वबाट हटाउने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरिएको हो।

शाहकै दल नेपाली कांग्रेसका बहुमत सांसदहरुले उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा औपचारिक रूपमा दर्ता गराएका हुन्। स्रोतका अनुसार मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको प्रस्तावमा ९ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका कुल १८ सांसद रहेका छन्। तीमध्ये सांसद प्रकाश देउवा हाल नेपाल बाहिर रहेकाले प्रस्तावमा सहभागी हुन सकेका छैनन्।

पछिल्लो समय मुख्यमन्त्री शाहको कार्यशैली र नेतृत्वप्रति दलभित्र असन्तुष्टि बढ्दै गएको थियो। केही सांसदहरूले सार्वजनिक रूपमा नै नेतृत्व परिवर्तनको माग गर्दै उनको राजीनामा मागेका थिए। बढ्दो दबाबबीच मुख्यमन्त्री शाहले आफूले बहुमत सांसदको समर्थन गुमाएको पुष्टि भए पद त्याग्न तयार रहेको बताएका थिए।

त्यसपछि असन्तुष्ट पक्षले हस्ताक्षर संकलन अभियान अघि बढाएको थियो।आवश्यक समर्थन जुटाएपछि संसदीय दलमा औपचारिक रूपमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

अविश्वास प्रस्ताव दर्तापछि प्रदेश सभा परिसरमा काँग्रेसका बहुमत सांसदहरूको छुट्टै बैठक समेत जारी रहेको जनाइएको छ।

दलभित्र नेतृत्व परिवर्तनको मागसँगै सुदूरपश्चिम प्रदेश सरकार र कांग्रेस संसदीय दलको नेतृत्वमा थप राजनीतिक प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077