Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

बुधवार , जेठ २०, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएपछि शाहले दलको बैठक बोलाएको हो ।

मंगलबार प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरिएको थियो ।

शाहकै दल नेपाली कांग्रेसका बहुमत सांसदहरुले मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरेको प्रस्तावमा ९ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर गर्ने मध्येकी एक प्रदेश सभा सदस्य डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि हाललाई शाहको पद भने जोगिएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका कुल १८ सांसद रहेका छन्। तीमध्ये सांसद प्रकाश देउवा भने हाल नेपाल बाहिर रहेका छन् ।

पछिल्लो समय मुख्यमन्त्री शाहको कार्यशैली र नेतृत्वप्रति दलभित्र असन्तुष्टि बढ्दै गएको थियो। केही सांसदहरूले सार्वजनिक रूपमा नै नेतृत्व परिवर्तनको माग गर्दै उनको राजीनामा मागेका थिए।

बढ्दो दबाबबीच मुख्यमन्त्री शाहले आफूले बहुमत सांसदको समर्थन गुमाएको पुष्टि भए पद त्याग्न तयार रहेको बताएका थिए।त्यसपछि असन्तुष्ट पक्षले हस्ताक्षर संकलन अभियान अघि बढाएको थियो।

बैठकको एजेन्डा भने खुलाइएको छैन । एजेन्डा नखुलाइए पनि बैठकमा दुवै पक्षबीच सोही विषयमा आपसी परामर्श हुने र आगामी रणनीति तय गरिने छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077