काठमाडौ। नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा भुटानलाई ५१ रनले पराजित गरेको छ ।
बिहीबार मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा टस हारेर ब्याटिङमा नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो । अनुभवी जोडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो । सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् । रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन् ।
जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन् । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपालका लागि रुबिनाले १५ रन खर्चेर तीन विकेट लिइन् । रिया शर्माले २० रन खर्चेर २ विकेट हासिल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।
नेपालले बुधबार पहिलो खेलमा कतारलाई हराएको थियो । अब अर्को खेलमा नेपालले शनिबार हङकङसँग खेल्न
महिला एसिया कपको छनोटका रुपमा रहेको प्रिमियर कपमा १८ राष्ट्रको सहभागिता छ। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। सेमिफाइनल पुग्ने टोली एसिया कपका लागि छनोट हुनेछन्।
मलेसियामा गत साता सम्पन्न एसियाली खेलकुद छनोटमा नेपाल चौथो भएको थियो। शीर्ष ३ टोली एसियाडका लागि छनोट भएका छन्। तेस्रो स्थानको खेलमा नेपाल चीनसँग डिएल मेथडमा ५ विकेटले पराजित भएको थियो।