चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१, नवलपुरका ५१ वर्षीय ओमनारायण गुरौ गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
त्यसैगरी मोटरसाइकल चालक भारतका २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।