बझाङ । बझाङ दुर्गाथली गाउँपालिका-३ रकेल स्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विवाद हुँदा कुटपिट भएको थियो । घटनामा शिक्षक मदन धामी टाउकोमा चोट लागेर घाइते भएका थिए ।
कुटपिट छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामी पनि टाउकोमा चोट लागेर घाइते भएका थिए । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो ।
उपचारपछि शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए। गम्भीर घाइते गगन धामीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको हो ।
घटनापछि प्रहरीले अनुसन्धानका क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिका–३ निवासी २८ वर्षीय सिंहराज धामीलाई नियन्त्रणमा लिएको छ।
साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।