'दोस्रोमा स्पेन र बेल्जियम खेल्ने'
एजेन्सी । फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल चरणको सुरुआत आज रातिदेखि हुँदैछ ।
क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्
क्वाटरफाइनल चरणको सुरुआती खेलमा फ्रान्स र मोरक्कोबीच बहुप्रतीक्षित भिडन्त हुँदैछ। खेल (जुलाई १०) नेपाली समयअनुसार आज राति १:४५ बजे सुरु हुनेछ।
यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा खेलेका थिए । त्यस खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।
यसैगरी क्वाटरफाइनलको दोस्रो खेल (जुलाई ११) शुक्रबार राति १२:४५ बजे हुनेछ ।
जसमा स्पेन र बेल्जियम खेल्नेछन् । सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनल खेल खेल्न लागेको हो । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् ।
सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ । बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
त्यसैगरी तेस्रो क्वाटरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति २:४५ बजे खेल हुनेछ । पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ ।
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इङ्ग्ल्यान्डले भने त्यसयता फाइनलसमेत पुग्न सकेको छैन ।
यस्तै अन्तिम क्वाटरफाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आउँदो आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।
साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । १९औँ पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ । स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।