धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाइएको छ ।
प्रहरीका अनुसार शनिबार उद्धारका लागि बझाङ पुगेको नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चैनपुरबाट घाइतेहरूलाई पालैपालो नेपालगञ्ज पुर्याइरहेको छ ।
नेपालगञ्ज रिफर गरिएका घाइतेहरूमा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता तथा केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन् ।
उनीहरूलाई दुर्घटनापछि उद्धार गरी राति जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो। जिल्ला अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो ।
शनिबार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुप्रप्र ०१००१ च २६६४ नम्बरको बोलेरो जीप केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।
दुर्घटनापछि घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर तत्काल बझाङ पुगे पनि प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेर सदरमुकाम चैनपुरमा अवतरण गरेको थियो। त्यसपछि घाइतेहरूलाई राति अबेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको थियो ।