काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौं जिल्ला अदालतमा आज सुनुवाइ हुँदैछ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको थियो । आजको इजलासले उनीहरूलाई हुने कैद र जरिवानाको अन्तिम टुंगो लगाउनेछ ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र छुट्टै सुनुवाइमार्फत सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार अदालतले आजका लागि सजाय निर्धारणको पेसी तोकेको हो।
यस प्रकरणमा टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे तथा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईलाई मुख्य कसुरदार ठहर गरिएको छ।
त्यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाललगायतका प्रतिवादीलाई मतियार ९सहयोगी० का रूपमा दोषी ठहर गरिएको छ।
अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीलाई पनि सजाय निर्धारणसम्बन्धी सुनुवाइका लागि उपस्थित हुन जानकारी गराउँदै सजायपूर्वको प्रतिवेदन तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।