काठमाडौं । केही सञ्चारमाध्यमको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गम्भीर आपत्ति जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा नेकपाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी दोषी पहिचान गर्न, कानुनी कारबाही अघि बढाउन तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो ।
पार्टीले नेपाली पत्रकारिताको ऐतिहासिक भूमिकाको स्मरण गराउँदै लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सञ्चार क्षेत्र सधैं दृढतापूर्वक उभिएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “पञ्चायती निरंकुशता, राजतन्त्रको दमन र शाही सत्ताका बुट सम्पादकीय कक्षसम्म पुगेका कठिन दिनहरूमा पनि नेपाली पत्रकारिता लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अडिग रह्यो। त्रास, धम्की वा दमनबाट नेपाली प्रेस झुक्ने छैन भन्ने इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ।”
नेकपाले प्रेसमाथि भय, दबाब वा आतंकको वातावरण सिर्जना गरेर सत्य र सूचनाको प्रवाह रोक्न खोज्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने जनाएको छ। “प्रेसलाई तर्साएर वा दबाबमा राखेर सत्यलाई रोक्न सकिन्छ भन्ने सोच लोकतन्त्रविरोधी मानसिकताको उपज हो,” विज्ञप्तिमा उल्लेख छ।
सोमबार बिहान कान्तिपुर मिडिया समूह, हिमालयन टेलिभिजन र अनलाइनखबरका कार्यालयअगाडि सडक तथा प्रवेशद्वार अवरुद्ध हुने गरी गाडी पार्क गरिएका घटनापछि विभिन्न राजनीतिक दल, सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन्।