काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई विभिन्न कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना तोकेको हो ।
अदालतले ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ। सोही कसुरमा थप ६ महिनाको कैद पनि तोकिएको छ।
यद्यपि, एकीकृत सजायको सिद्धान्तअनुसार अदालतले रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि असार २४ गते रायमाझी र खाँणसहित १६ जनालाई दोषी ठहर गरेको थियो । मंगलबार उनीहरूमाथिको सजाय निर्धारण गरिएको हो।