काठमाडौं । उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन्।
संघीय संसद् सचिवालयका अनुसार उनी चीनको न्याङ्ग्ची (निङ्ची) सहरमा असार ३१ गतेदेखि साउन १ गतेसम्म आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बिहीबार बिहान सिचुआन एयरलाइन्समार्फत चीन गएकी हुन्।
प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा। रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्।
मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उनको भेटवार्ता पनि तय भएको सचिवालयले जनाएको छ। साथै अन्य उच्चस्तरीय भेटघाटसमेत हुने जनाइएको छ ।
प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते नेपाल फर्कने कार्यतालिका रहेको छ ।