Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

नेपाल सुपर ओभरमा युएईसँग पराजित

नेपाल सुपर ओभरमा युएईसँग पराजित

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित हुँदै फाइनल पुग्ने अवसरबाट वञ्चित भएको छ।

मलेसियाको वायुमास ओभल स्टेडियममा शुक्रबार १०१ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटिएपछि खेल टाइ भएको थियो। त्यसपछि भएको सुपर ओभरमा युएईले बाजी मार्दै फाइनल यात्रा तय गर्‍यो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले ५ बलमा २ विकेट गुमाएर ६ रन मात्र बनाउन सक्यो। सोनी पाख्रिन र अनु कडायत समान २र२ रनमा आउट हुँदा सावित्री अविजित १ रनमा रहिन्।

७ रनको लक्ष्य पछ्याएको युएईले मात्र ३ बलमा लक्ष्य पूरा गर्‍यो। कप्तान समैरा धर्नीधार्काले पहिलो बलमै चौका प्रहार गर्दै टोलीलाई सहज जित दिलाइन्।

यसअघि नेपालले लक्ष्य पछ्याउने क्रममा सुरुवातदेखि नै दबाब झेल्यो। सावित्री, सोनी पाख्रिन, सना प्रवीण, अञ्जिला पाठक र करूणा विष्ट सस्तोमा आउट भएपछि नेपाल १३.२ ओभरमा ५० र ५ को अवस्थामा पुगेको थियो।

त्यसपछि अनु कडायत र एलिसा कुमारी यादवले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गर्दै नेपालको आशा जीवित राखेका थिए। अनुले २० तथा एलिसाले १७ रन बनाइन्। अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक पर्दा नेपालले ६ रन मात्रै जोड्न सक्यो। अन्तिम बलमा दोस्रो रन लिने प्रयासमा मनिषा उपाध्याय रनआउट भएपछि खेल टाइ भएको थियो।

युएईका लागि वैष्णवी महेशले ३ तथा साही निखिल ठिटेले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई १९.५ ओभरमा १०० रनमा समेटिएको थियो। मेहुल प्रनभ कुलकर्नीले ३०, लाभान्या केनीले २५ र नेहा कुमारीले अविजित १९ रन बनाएका थिए।

नेपालका लागि रिया शर्मा र अनु कडायतले समान ३र३ विकेट लिए। रियाले ३.५ ओभरमा ८ रन मात्र खर्चिएर उत्कृष्ट बलिङ गरिन् भने तृष्णा विश्वकर्माले २ र मनिषा उपाध्यायले १ विकेट लिइन्।

नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो। क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले यू–१९ महिला एसिया कपमा भने यसअघि नै स्थान सुरक्षित गरिसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077