काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) इतिहासमै पहिलो पटक च्याम्पियनशिप रिङ (औँठी) वितरण गर्ने भएको छ ।
विश्वकप फुटबल २०२६ का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशिप रिङ प्राप्त गर्ने भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशिप रिङ पनि प्राप्त गर्ने भएका हुन् ।
अमेरिकाको न्यूयोर्क–न्यू जर्सी रङ्गशालामा आइतबारको मध्यराति पौने १ हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई र अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
फिफाले सन् २०२६ को प्रतियोगिताको सम्झनामा २ हजार २६ थान च्याम्पियनशिप रिङ तयार पारेको छ । विजेता टोलीका सदस्यहरूलाई ३० वटा औँठी प्रदान गरिनेछ भने बाँकी १ हजार ९९६ वटा आधिकारिक रूपमा इजाजतप्राप्त स्मृति–सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ ।
हरेक औँठीको एकतर्फ फिफा विश्वकपको ट्रफी रहनेछ भने अर्कोतर्फ प्रतियोगिताको विजेताको पहिचान झल्किने गरी विशेष रूपमा तयार पारिने फिफाले जनाएको छ ।