काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू आज बस्दैछन् ।
संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिनको २ः१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३७ औँ बैठक दिनको १ः०० बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ।
उक्त बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा र विविध विषयमा छलफल हुने जनाइएको छ।
यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सोमबार बिहान ११ः०० बजे समितिको बैठक कक्षमा बस्नेछ।
बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल र विविध एजेन्डामा छलफल हुने बताइएको छ ।