सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन चर्किँदा कोशी कटान क्षेत्रसहित दक्षिणी सुनसरीको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।
प्रदर्शनकारीले मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।
प्रदर्शनका क्रममा कोशी कटान क्षेत्रका केही पसलमा लुटपाट, तोडफोड र आगजनीसमेत भएको बताइएको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको थियो। त्यसयता कप्तानगञ्ज र आसपासका क्षेत्रमा तनाव कायम छ।
बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानदेखि दक्षिणी सुनसरीका हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।
कर्फ्युका बाबजुद प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको प्रशासनले जनाएको छ।
यसैबीच मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। पाँच बजार क्षेत्रमा भने कर्फ्यु आदेश यथावत् राखिएको छ।
प्रशासनले निषेधाज्ञा अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा तथा भीडभाड गर्न पूर्ण रोक लगाएको छ।
साथै, कर्फ्यु र निषेधाज्ञाको पालना गर्दै शान्ति–सुरक्षा कायम गर्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा सुरु भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनामा गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
उक्त घटनामा सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
सोही विषयलाई लिएर सुनसरी र सिराहलगायत विभिन्न जिल्लामा ठाउँमा प्रदर्शन जारी छ ।
यद्यपी सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकले शान्ति–सुरक्षा सुदृढ बनाउने, सामाजिक एकता कायम राख्ने र घटनालाई थप जटिल बन्न नदिन सर्वपक्षीय सहमति गरेको थियो ।
यसैगरी सोमबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरी देवानगञ्ज घटनाबारे विस्तृत ब्रिफिङ लिएका थिए।
सोही छलफलपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
उक्त छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सहसचिव थापा संयोजकत्वको छानबिन समितिले आजबाट काम थालेको छ ।