काठमाडौं । भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई भारत भ्रमणको औपचारिक निम्तो दिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल ले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकिएको जानकारी दिएका हुन्।
पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले निम्तो पठाइसकिएको पुष्टि गरेका हुन्।
प्रधानमन्त्री शाहले काठमाडौँस्थित भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल भ्रमणमा आउन लागेका विदेश सचिव मिश्रीसँग भेटका लागि समय नदिएपछि बालेन सरकारसँग नयाँ दिल्लीको सम्बन्ध चिसिएको थियो।
तर, प्रधानमन्त्री शाहले सरकार बनेको सय दिन पुगेलगत्तै भारत भ्रमणको तयारीमा लागेको जनाउ दिन आफ्ना प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई दिल्ली पठाएका थिए ।
बेनले दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग जुलाई पहिलो साता भेटवार्ता गरेका थिए ।
राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल दिल्लीमा नेपाल नीति निर्माणमा निर्णायक मानिन्छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र डोभाल मन्त्रीस्तरका उच्च सुरक्षा अधिकारी समेत हुन्।
परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतहरूका अनुसार सम्भवतः सेप्टेम्बरअघि नै प्रधानमन्त्री शाहको भारत भ्रमण हुन सक्नेछ। यसपालि सेप्टेम्बर ८ मा सुरु हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने प्रधानमन्त्री शाहको प्रारम्भिक तयारी छ। उनी महासभामा सहभागी हुन अमेरिका जानुअघि नै भारत भ्रमण गर्ने कसरतमा जुटेका हुन्।