काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा हिनामिना तथा ठगी प्रकरणमा मुद्दा खेपिरहेका तीन आरोपीलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश उमानाथ गौतमको इजलासले काठमाडौं महानगरपालिका–११ की सदस्य आशा श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ तथा ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्यलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। अदालतको आदेशसँगै तीनै जना मंगलबार नै रिहा भएका छन्।
यस प्रकरणमा पाँच जनालाई भने फरार प्रतिवादी कायम गर्दै मुद्दा दायर गरिएको छ। उनीहरूमाथि बाल मन्दिरको स्वामित्वमा रहेको बहुमूल्य जग्गा मिलेमतोमा अत्यन्त न्यून मूल्यमा लिजमा उपलब्ध गराएको, संस्थाको सम्पत्तिको दुरुपयोग गरेको तथा अनाथ तथा असहाय बालबालिकाको हितका लागि प्राप्त बजेटसमेत अपचलन गरेको आरोप छ।
बहुचर्चित यस प्रकरणमा सरकारी पक्षले संस्थागत भ्रष्टाचार, ठगी र सार्वजनिक सम्पत्तिको हिनामिनासम्बन्धी गम्भीर आरोप लगाएको छ। अदालतले भने प्रारम्भिक थुनछेक बहसपछि तीन आरोपीलाई पुर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।