Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

सुनसरी घटनामा बोल्यो सरकार, भन्यो - शान्ति र सामाजिक सद्भाव कायम राखौँ

सुनसरी घटनामा बोल्यो सरकार, भन्यो - शान्ति र सामाजिक सद्भाव कायम राखौँ

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र कानुनी तथा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सुनिश्चित गरिने उल्लेख गरिएको छ ।

सरकारका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ। समितिले आफ्नो कामसमेत सुरु गरिसकेको विज्ञप्तिमा जनाइएको छ।

सरकारले पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न जोसुकै दोषी भए पनि उनीहरूमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

विज्ञप्तिमा कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा, मुठभेड वा उक्साहटबाट सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक विधिमार्फत समाधान खोज्न आग्रह गरिएको छ।

साथै, धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन, उत्तेजनात्मक अभिव्यक्ति नदिन, भ्रामक सूचना नफैलाउन तथा यस्ता सूचनाको पछि नलाग्न सरकारको विशेष अपिल छ।

सरकारले नेपालमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077