काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न बुधबार बिहान सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै संसद् बाहिर रहेका प्रमुख दलहरूलाई पनि सहभागी हुन निमन्त्रणा गरिएको छ।
छलफलका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार सभापति लामिछानेले सम्बन्धित दलका शीर्ष नेताहरूलाई औपचारिक पत्राचार गर्नुका साथै व्यक्तिगत रूपमा टेलिफोनमार्फत पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन्।