काठमाडौं । नेकपा एमालेले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा एक युवाको मृत्यु तथा अन्य नागरिक गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले घटनाको निष्पक्ष, उच्चस्तरीय छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ।
मंगलबार जारी विज्ञप्तिमा एमालेले घाइते सबै नागरिकको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
एमालेले नागरिकको जिउधनको सुरक्षा तथा देशमा शान्ति–सुरक्षा कायम गर्ने दायित्व बोकेको सरकार र स्थानीय प्रशासन संवेदनशील घटनामा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन बनेको आरोप लगाएको छ। यस्तो अवस्थाले जनविश्वास कमजोर बनाएको भन्दै पार्टीले सरकारको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
विज्ञप्तिमा विवाद समाधानका लागि समयमै संवाद, समन्वय र विश्वासको वातावरण निर्माण गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग, शक्ति प्रदर्शन र त्रासको वातावरण सिर्जना गरिएको दाबी गरिएको छ। यस्ता गतिविधिले परिस्थिति थप तनावपूर्ण र उत्तेजित बनेको एमालेको भनाइ छ।
पार्टीले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।