काठमाडौं । नेकपा एमालेले संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले पार्टीका सांसदहरूका लागि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
पार्टीको संसदीय मामिला विभागको आयोजनामा आइतबार केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका एमाले सांसदहरूको सहभागिता रहेको छ।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टीको नीति, संसदीय भूमिका र समसामयिक राजनीतिक विषयमा प्रशिक्षण तथा मार्गदर्शन दिनेछन्।
यस्तै, संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईसहितका विज्ञहरूले संसदीय प्रक्रिया, संसदीय अभ्यास र प्रभावकारी विधायिकी भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिएका छन्।
एमालेले संसदीय गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरेको जनाएको छ।