Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सर्वोच्चमा नक्कली स्टीकर काण्ड, बिचौलियाको रजगज

    सर्वोच्चमा नक्कली स्टीकर काण्ड, बिचौलियाको रजगज

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 3K
    SHARES

    काठमाडौ । न्यायालयमा बिचौलियाको राज चल्ने गरेको कुरा सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै बोलेको छ । अदालतमा बिचौलिया छन् भन्ने अमूर्त भाषासहितको प्रतिवेदनले प्रधानन्यायाधीशकै भाइ अहिलेका ठूलो बिचौलिया रहेको भन्ने चर्चामा भने मौन बसेको छ । ठूला आर्थिक सरोकारका मुद्दामा भाइ प्रभुकै सेटिङ हुने गरेको चर्चा न्यायिक क्षेत्रमा व्यापक छ ।

    सरकारी जग्गा अतिक्रमणदेखि १७ अर्ब सहकारीको रकम ठगी गर्ने सुधीर बस्नेतको बचाउमा पनि प्रभुकै नाम आउने गरेको छ । अदालतका बिचौलियाले मदिरामा नक्कली अन्तशुल्क स्टीकर टाँसेर राजश्व छली गर्नेलाई समेत मुद्दा जिताइदिन्छु भनेर घुस लिएको तथ्य पटक पटक उजागर भएकै छ ।



    पर्साका धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीले अन्तः शुल्कका नक्कली स्टीकर टाँसेर ३३ करोडको राजश्व अपचलन गरेको ठहर आन्तरिक राजश्व कार्यालय वीरगंज पर्साले गरेको थियो । त्यसविरुद्ध मदिरा कम्पनीका सञ्चालक ओमप्रकाश कलवारसहितका मदिरा उद्योगका सञ्चालकहरुले राजश्व न्यायाधीकरणमा मुद्दा दायर गरेका थिए । यो मुद्दामा राजश्व न्यायाधीकरणबाट जिताइदिन्छु भनी बिचौलिया भरत चौलागाईंले कलवारसहितका मदिरा उद्योगका  सञ्चालकसँग करोडौं लिएका थिए । तर अदालतमा सेटिङ गरी नक्कली स्टीकर टाँस्ने उद्योगलाई जिताउने खेल भइरहेको समाचार सार्वजनिक गरेपछि राजश्व न्यायाधीकरणका न्यायाधीश विनोद शर्माले चौलागाईंको सेटिङ अनुसार फैसला गर्न सकेनन् ।



    राजश्व न्यायाधीकरणबाट मुद्दा हारेपछि चौलागाईंसँग दिएको घुस फिर्ता माग्न गएका कलवारहरुलाई उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको र तास समेत खेल्ने गरेकाले सर्वाेच्चबाट जिताइदिन्छु भनी निस्साका लागि निवेदन दिन लगाएको स्रोतको दावी छ ।

    निस्साको निवेदन परेपछि आफू अनुकूलको न्यायाधीशको इजलासमा नपरुञ्जेलसम्म मुद्दा सार्न लगाए । २०७८ साउन २२ गते आफूले भने अनुकूलको न्यायाधीशकोमा पेसी परेपछि निस्सा दिलाउन सफल भएका छन् । २०७८ साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको वेञ्चमा परेको पेशी सारेर एक हप्तामै अर्काे पेशी राख्न लगाई २०७८ साउन २२ गते न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको वेञ्चबाट निस्सा दिलाएका छन् । नक्कली अन्तशुल्क स्टिकर राष्ट्रिय अपराध हो ।

    राष्ट्रिय अपराध गर्ने उदयपुर डिष्टिलरी र धौलागिरी डिष्टीलरीलाई आन्तरिक राजश्व कार्यालयले गरेको कारबाहीलाई राजश्व न्यायाधीकरणले सदर गरिसकेको छ । अब सर्वाेच्चबाट राष्ट्रिय अपराध गर्ने नक्कली स्टीकर प्रयोगकर्तालाई मुद्दा जिताउन बिचौलिया भरत चौलागाईंले १३ करोडमा डिल गरेको स्रोत बताउँछ । प्रधानन्यायाधीशको नामको बद्नाम गर्दै नक्कली स्टिकरजस्तो राष्ट्रिय अपराध गर्नेलाई उन्मुक्ति दिलाउन लागेका छन् ।

    भरत चौलागाईं अदालतका मुद्दा सेटिङ गर्दै करोडौं करोडका मालिक भइसकेका छन् । रामेछापको गुन्सी भदौरे घर भएका चौलागाईंले दीपकराज जोशी सर्वाेच्चमा हुँदा बिसौं करोडका सरकारी जग्गा व्यक्तिका नाममा कायम गराउँदै दशौं करोडका मालिक भइसकेका छन् । अदालतका खुंखार बिचौलिया भरत चौलागाईं रामेछापको कांग्रेसी राजनीतिमा प्रतिनिधि सभाकै टिकट दाबी गर्न थालेका छन् । रामेछापका प्रत्येक वडामा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई ब्याग र ट्रयाकसुट वितरण गर्दै हिँडेका छन् ।

    महासमिति सदस्य नेपाली कांग्रेस उल्लेख गरेका टिसर्ट, ट्रयाकसुट र स्कूल ब्यागहरु बितरण गर्ने अभियान नै चालिएको छ । नेपाली कांग्रेसमा वर्षाै दुःख गरेका, जेलनेल भोगेकाहरु भरत चौलागाईंजस्ता बिचौलियाको तडकभडकका सामु निरीह सावित भएका छन् । अर्बपति ठेकेदारका रुपमा चिनिएका पूर्णबहादुर तामाङ उर्फ कान्छारामसमेत चौलागाईंसँग पैसामा प्रतिस्पर्धा गर्न सकिएन भन्दै दिक्क मान्न थालेको चर्चा कांग्रेसीहरु नै गर्दैछन् । कान्छाराम यसअघि २०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार थिए । २६ हजार बढी वामपन्थी भोटलाई काटेर उनी ५ हजार मतान्तरमा पराजित भएका थिए ।

    चौलागाईंको प्रवेशले कान्छारामलाई सकस परेको कांग्रेसजनहरुकै भनाइ छ । चौलागाईंले नेपाली कांग्रेसमा तेस्रो धारको च्याँखे थापेर लाभ लिँदै आएका कृष्ण सिटौलालाई फन्डिङ गर्दै आएका छन् । उनले कृष्ण सिटौलाको कोटाबाट रामेछापमा प्रतिनिधिसभाको टिकट दाबी गर्न थालेको स्रोतले बतायो । सिटौलाको कोटामा यी  बिचौलियाले टिकट पाए भने अचम्म नमाने हुन्छ, एक कांग्रेसका नेताले भने । सादा जीवन उच्च विचारको पक्षपाती बताउने सिटौलाले चौलागाईंजस्ता बिचौलियालाई च्याप्दा उनीसमेत बद्नाम हुँदैछन् ।

    यस्तो छ नक्कली स्टिकर काण्ड

    आन्तरिक राजस्व कार्यालय बीरगंज पर्साले पर्साको पोखरीया नगरपालिकामा रहेको जयश्री धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीले अन्तशुल्क स्टीकरको हिनामिना र दुरुपयोग गरी करिब ३२ करोड राजस्व छली गरेको ठहर गरेको थियो । जयश्री धवलागिरी डिष्टीलरीले ५ करोड ४७ लाख ५९ हजार ७७३ रुपैयाँ अन्तशुल्क छली गरेको विवरण आन्तरिक राजस्व कार्यालय बीरगंजले निकालेको छ ।

    उदयपुर डिष्टीलरीले २६ करोड १५ लाख ७० हजार ३४७ रुपैयाँ अन्तशुल्क छली गरेको ठहर आन्तरिक राजस्व कार्यालय २०७६ असोज ७ मा गरेको थियो । आन्तरिक राजस्व कार्यालय बीरगंजका तत्कालीन प्रमुख गोपीकृष्ण कोइरालाले ती दुई डिष्टीलरीले ३१ करोड ६३ लाख ३० हजार १४७ रुपैयाँ अन्तशुल्क छली गरेको फैसला गरेका थिए । आन्तरिक राजस्व कार्यालयका प्रमुख अन्तशुल्क हेर्ने अधिकारी पनि हुन् । अन्तशुल्क छली गर्ने जयश्री धवलागिरी र उदयपुर डिष्टीलरीले अन्तशुल्क अधिकारीले गरेको फैसलाबिरुद्ध राजस्व न्यायाधीकरण पुल्चोकमा २०७६ कात्तिक २० मा पुनरावेदन गरेका थिए ।

    जयश्री धवलागिरी डिष्टीलरी र उदयपुर डिष्टीलरीका संचालक दाजुभाइ हुन् । जयश्री धवलागिरीका शम्भुशरणप्रसाद कलवार हुन् भने उदयपुर डिष्टीलरीका ओमप्रकाश कलवार हुन् । अन्तशुल्क अधिकारीले शम्भुशरणलाई  बिगो, जरिवाना र बिलम्ब शुल्क गरी ५ करोड ४७ लाख ५९ हजार ७७३ रुपैयाँ असुलउपर गर्ने फैसला गरेको थियो । उक्त रकम नबुझाएमा मुलुकी फौजदारी संहिताको २०७४ को दफा १६४(२) बमोजिम जायजेथा गरी असुलउपर गर्नू, जायजेथा गर्दा पनि असुल नभएमा सोही ऐनको दफा १६४ को उपदफा ७ बमोजिम ७ बर्ष कैद संजाय हुने फैसला गरेको थिए । आजको साँघु साप्ताहिकबाट

    नक्कली अन्तशुल्क स्टीकर प्रयोग गर्ने उदयपुर डिष्टीलरीले दिएको निवेदनमा यसरी दिइयो निस्सा :

    Screenshot (51).jpg

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार