Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डीडीए नमिलेको भन्दै हिमालयन बैंकले अस्वीकृत गर्यो इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता

    डीडीए नमिलेको भन्दै हिमालयन बैंकले अस्वीकृत गर्यो इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता

    सेयर धनीहरूबीच भनाभन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले ठूला वाणिज्य बैंक मर्जका लागि लिएको नीति हिमालयन बैंकले फेल पारेको हो । १० महिना अघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता गरेका थिए ।

    शुक्रबार सम्पन्न बैंकको २९औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको हो । मर्जर विषयमा सेयरधनीहरुबीच विवाद भएपछि उक्त प्रस्ताव पारित हुन नसकेको हो ।



    मर्जर सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैंकले मतदानमार्फत पारित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार मतदान भएको हो । मर्जर प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयरधनीले स्वीकृत जनाउनुपर्ने थियो । तर कर्मचारी संचयकोष, एन ट्रेडिङ कम्पनी, छायाँ इन्टरनेशनललगायत कम्पनीसहितले असहमति जनाएपछि ४२ प्रतिशत मत विपक्षमा आएको बुझिएको छ ।



    हिमालयन बैंकमा संचय कोषको १४.८७ प्रतिशत सेयर लगानी छ भने एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत र छायाँ इन्टरनेशनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ ।

    यीमध्ये सञ्चय कोष, एन ट्रेडिङ र छायाँ इन्टरनेशनलको ३६.५८ प्रतिशत सेयरधनीको असहमतिपछि हिमालयन बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुन नसकेको हो । हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर लगानी छ । यो बैंकको सबैभन्दा ठूलो सेयरधनी हो ।

    त्यसैगरी बैंकमा शशिकान्त अग्रवालको २.६५ प्रतिशत, अन्जु खेतानको ०.७७ र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत सेयर लगानी छ । बाँकी सेयर सर्वसाधारण र साना लगानीकर्ताको छ ।

    इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेदेखि नै हिमालयन बैंक सञ्चालक समितिमा मतभेद देखिएको थियो । संस्थापक लगानीकर्ताहरु हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए । यही कारण समझदारी पत्रमा हस्ताक्षर भएको करिब ९ महिना पछि यी दुबै बैंकको मर्जर प्रक्रिया रद्द हुने भएको हो ।

    हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर विफल भएको हो । करिब ४० प्रतिशत सेयर हिस्सा ओगटेको संस्थापक सेयरधनीहरू नै मर्जरको विपक्षमा मत हालेका छन् ।

    अध्यक्ष श्रेष्ठका पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जरमा जान चाहेका सेयर धनीबीच केही बेर भनाभनसमेत भएको थियो ।
    बैंकका अध्यक्ष श्रेष्ठ र कर्मचारी संचय कोषले हालकै अवस्थामा मर्जरमा गर्दा हिमालयन बैंकका सेयरधनीलाई प्रति कित्ता २२ रुपैयाँ नोक्सानी हुने आधार देखाउँदै मर्जरको विपक्षमा मत दिएका छन् ।

    दुबै बैंकले गरेको सम्पत्ति तथा दायीत्व मूल्यांकन (डीडीए) अनुसार हिमालयन बैंकको एक कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको पनि एक कित्ता सेयर हुने भन्ने छ । त्यो मूल्यांकनमा हिमालयन बैंकको सम्पत्तिको कम मूल्यांकन गरिएको र इन्भेष्टमेन्टको बढी गरिएको भन्दै कोष लगायत सेयरधनीले विरोध गर्दै आएका थिए । यसकारण आजको साधारण सभामा उनीहरुले मर्जरको विपक्षमा मतदान उभिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार