Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कतार प्रहरीको नाममा ३० करोड असुल्ने श्रेष्ठको योजना, चोरी गाडीको खरिद विक्रीदेखि मान तस्करीसम्म

    कतार प्रहरीको नाममा ३० करोड असुल्ने श्रेष्ठको योजना, चोरी गाडीको खरिद विक्रीदेखि मान तस्करीसम्म

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । कतार प्रहरीमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १० देखि १५ लाखसम्म असुलेको अल ताक्वेत ओभरसिज नामक म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान थालेको छ ।

    अल ताक्वेतले केही समय अघि ‘नक्कली विज्ञापन’ प्रकाशित गरी कतार प्रहरीमा जागिर खुलेको भन्दै गैरकानूनी रुपमा प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म ठगी गरेको समाचार अनलाईननेपाल डटकमलगायत केही सञ्चारमाध्यमहरुमा प्रकाशित भएपछि विभागले हिजै उक्त कम्पनीमाम छापा मारेको थियो ।



    अल ताक्वेतले कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन एक दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरेको थियो । १० देखि १५ लाख उठाएको उक्त कम्पनीले पाँच तारे होटल ह्यातमा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तोकेको थियो । तर, विभागले हिजै छापा मारेपछि दुई सय युवाबाट ३० करोडसम्म रकम उठाउने अल तक्वेतका मालिक अमित श्रेष्ठको योजना असफल हुने देखिएकाे छ ।



    विभागले कम्पनीको सम्पूर्ण कागजात जफत गरेपछि तिल्मिलाएका श्रेष्ठ आज विभागको कार्यायल पुगेका थिए । उनले विभागमा पुगेर आफूले कुनै बद्मासी नगरेको बताए पनि गत वर्ष सोही वाहानामा प्रतिव्यक्ति ७ लाख रुपैयाँ ठगी गरेको पुष्टि भएपछि कतार प्रहरीको माग नै रद्ध गरिएको थियो । तर, श्रेष्ठले भित्र भित्रै झण्डै तीन सय युवाहरुलाई कतार पठाइसकेका छन् ।

    अल ताक्वेत ओभरसिजमाथि ठगीको आरोप लागेपछि वैदेशिक रोजगार विभागले त्यतिबेलै कतार प्रहरीको माग नलिने निर्णय गरेको थियो । तर, अहिले उनै श्रेष्ठले फेरि पनि कतार प्रहरीका लागि भन्दै दुई सय युवाबाट ३० करोड उठाउन बनाएका छन् ।

    गत वर्ष पनि कतार प्रहरीको नाममा ठूलै आर्थिक चलखेल भएको थियो । उक्त आर्थिक चलखेलमा तत्कालिन श्रममन्त्री किसान श्रेष्ठदेखि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासम्म मुछिएका थिए । विचौलियाहरुले आरजुका भाइ भुषण राणाको नाम लिएर सेटिङ मिलाएको दावी गर्दै आएका छन् ।

    विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुषालले अल ताक्वेतबाट आवश्यक सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिइएको र छानविन भइरहेको बताए । उनले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘हामीले सम्पूर्ण कागजात लिएर अनुसन्धान शुरु गरिसकेका छौं । चाँडै नै सत्य तथ्य सार्वजनिक गर्छौं ।’

    निर्देशक भुषालले कतारमा पनि पत्र पठाइसकेको बताउँदै उताबाट अहिलेसम्म कुनै जवाफ नआएको जनाए ।

    अल ताक्वेतका सञ्चालक अमित श्रेष्ठले ‘नक्कली विज्ञापन’ प्रकाशित गरेर प्रतिव्यक्ति १० देखि १५ लाखसम्म रकम उठाइरहेका थिए । जबकी सरकारले कतार प्रहरीमा निशुल्क पठाउने निर्णय गरेको थियो ।

    गत वर्ष माग नै रद्ध भएपछि यस वर्ष रकम बढाएर २ सय युवाबाट ३० करोडसम्म रकम उठाउने योजनासहित श्रेष्ठको समूह लागि परेकाे हाे । श्रेष्ठ तिनै ब्यक्ति हुन्, जो चोरीको बिएमडब्लु गाडी खरिद बिक्रीमा पनि मुछिएका थिए। उनलाई रमेश खरेल काठमाडौं प्रहरी प्रमुख हुँदा कारबाही गरेका थिए ।

    ठूलो आर्थिक चलखेल गरेर श्रममन्त्रीदेखि बुढानिलकण्ठसम्म पहुँच बनाएका श्रेष्ठको ठगी प्रकरणलाई विभागले टुंगोमा पुर्याउँछ कि पुर्याउँदैन त्यो भने पर्खाइको विषय बनेको छ ।

    यस बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक पे्रस विज्ञप्ति जारी गरी अल ताक्वेत ओभरसिजमाथि अनुसन्धान भइरहेको जनाएको छ । मन्त्रालयले अल ताक्वेतले गलत गरेको भेटिएमा सख्त कारबाही गरिने पनि जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार