Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित

    भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 732
    SHARES

    भेरीगङ्गा । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् ।

    भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार छ सय ८७ जनामध्ये ४० हजार एक सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबीर सुनारले बताए ।



    जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुमपश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए । जाजरकोटमा चार सय २३ र रुकुम पश्चिममा तीन सय १३ गरी सात सय ३६ विद्यालयमध्ये दुई सय आठ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने चार सय १८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ ।



    जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ । जाजरकोटमा मात्रै एक सय ७३ पूर्ण रूपमा र चार सय आठ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन् ।

    ६७ विद्यार्थीको मृत्यु

    भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । जसमा सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको शिक्षा अधिकृत सुनारले जानकारी दिए ।

    ३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारको भनाइ छ । भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन् ।

    सरकारी योजना के छ ?

    प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल छ सय सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ । सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत बलवीर सुनारले तत्काल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने योजना रहेको बताए । विद्यालयमा भएको भौतिक क्षतिको लेखाजोखा गरी पुनःनिर्माणको कामलाई अगाडि बढाउने तयारी गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार