Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सवारी दुर्घटना : ६ महिनामा १ हजार १३७ जनाको मृत्यु, १६ हजार ३३५ घाइते

    सवारी दुर्घटना : ६ महिनामा १ हजार १३७ जनाको मृत्यु, १६ हजार ३३५ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 366
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार एक सय ३७ ले ज्यान गुमाएका हुन् ।

    ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन् ।



    तीन हजार दुई सय १३ गम्भीर र १३ हजार एक सय २२ जना सामान्य घाइते भएका ढकालले बताए । “डिजिटल प्रविधि, सिसिटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ । योसँगै प्रहरीले दुर्घटना कम हुने विश्वास लिएको छ”, उनले भने ।



    प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार आठ सय ५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा पाँच हजार आठ सय ६५, कोशी प्रदेशमा एक हजार छ सय ३९, मधेसमा तीन हजार एक सय ९०, बागमतीमा सात सय छ, गण्डकीमा एक सय ९५, लुम्बिनीमा छ सय छ, कर्णालीमा चार सय ९५ र सुदूरपश्चिम प्रदेशमा एक सय ६० सवारी दुर्घटना भएका छन् ।

    दुर्घटनामा १० हजार तीन सय ५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ ।

    तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको बताए । उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार