Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रहरी कर्मचारीलाई डीआईजी केसीको निर्देशन – बोली व्यवहारमा सुधार ल्याउनू

    प्रहरी कर्मचारीलाई डीआईजी केसीको निर्देशन – बोली व्यवहारमा सुधार ल्याउनू

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 915
    SHARES

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रहरी कर्मचारीहरूलाई बोली व्यवहारमा सुधार ल्याउन निर्देशन दिएका छन् ।

    शुक्रबार नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरको स्थलगत निरीक्षण गर्दै सो निर्देशन दिएका हुन् । निरीक्षणका क्रममा उनले बोली व्यवहारमा सुधार गर्नु पर्ने, गलत प्रवृत्ति भएका मानिसहरूसँग साँठगाँठ नगर्ने, व्यक्तिगत फाइँदाको लागि आफ्नो अधिकारको दुरुपयोग नगर्ने र प्रहरी आचरण विपरीतका कार्य नगर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।



    यस्तै कुनै पिर मर्का गुनासाहरू भए नेपाल प्रहरी संगठनले तोके बमोजिमको विधि र प्रक्रिया अनुरूप अघि बढाउने, आर्थिक प्रलोभनमा नपर्ने, गोपनीयता कायम राख्ने, सामाजिक सञ्जालको दुरुपयोग नगर्ने, मानव अधिकारको संरक्षण गर्दै कार्य सम्पादन गर्न पनि उनको निर्देशन छ ।



    साथै उनले विभिन्न किसिमका हुल दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता गतिविधीहरुको नियन्त्रण गर्ने कार्यमा खटिदा बल प्रयोगका सिद्धान्तलाई पालना गर्नु पर्ने बताए ।

    निर्देशनकै क्रममा उनले प्रहरी कर्मचारीहरूलाई व्यावसायिक, अनुशासित एवं कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न भनेका थिए । उनले गणको कार्यालय भवन, विभिन्न शाखाहरू, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

    कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेत, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरका गण प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक भरत बहादुर चौधरी लगायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार