काठमाडौं । नेपाल प्रहरीमा जस्तै सशस्त्र प्रहरी बलमा पनि लत्ताकपडालगायतका बन्दोबस्तीका सामान खरिदको ठेक्का एउटै समूहले कब्जा गर्नेगरी चलखेल भइरहेको छ ।
नेपाल प्रहरीको ठेक्कामा सिन्डिकेट कायम गर्न सफल ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी र श्रवण अग्रवालहरुको समूहले सशस्त्रको खरिद हेर्ने प्रबन्ध निर्देशनालयमा आफू अनुकूल एसएसपी विकास घिमिरेलाई ल्याउन सफल भइसकेका छन् ।
सशस्त्रको खरिदमा पारदर्शीता कायम गराउन एसएसपी राजेन्द्र खड्कालाई प्रबन्धमा ल्याउनका लागि आईजीपी राजु अर्याल लागेका थिए । शिवपुरीमा भएको सेनाको स्टाफ कलेजमा उत्कृष्ट भएका एसएसपी खड्कालाई रोक्न गृहमन्त्रालयलाई नै प्रयोग गरिएको स्रोत बताउँछ । सशस्त्रको १३ नं. गण पर्साको गणपति हुँदासमेत छवि जोगाएका खड्कामार्फत् ठेक्कामा सेटिङ गर्न सम्भव नहुने भएपछि गृहमार्फत् उनलाई रोकिएको चर्चा सशस्त्रमा छ ।
आईजीपी अर्यालमात्र होइन, खड्कालाई प्रबन्धमा ल्याउने पक्षमा गृहमन्त्रालयका सचिव गोकर्णमणि दवाडी पनि थिए । तर डीआईजी दीपेन्द्र कुँवरले शक्तिकेन्द्र प्रयोग गरी रोकिदिएको स्रोत बताउँछ । यसैबीच, आफ्ना अनुकूलका एसएसपी घिमिरेलाई प्रबन्धमा ल्याउन सफल डीआईजी कुँवर जुलाई २५ मा आफ्नो जन्मदिनको अवसर पारेर बाहिनी कार्यालय चन्द्रौटा, कपिलबस्तुबाट काठमाडौं आएका थिए ।
स्रोतका अनुुसार जन्मदिन मनाउन चार दिनसम्म काठमाडौंमा रहँदा उनले एसएसपी घिमिरे र ठेकेदार बस्नेत, बीसी र अग्रवालसँग भेटाएर सबै सेटिङ मिलाएर फर्किएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।
कुँँवरले घिमिरे–ठेकेदार भेट गराइसकेपछि २०८२ साउन १४ गते सशस्त्र प्रहरी बलको प्रबन्धले चुस्ता, बुट, स्पोर्ट सुज, पीटी गन्जी–कट्टु, पार्का चुस्ता, इक्प्युपमेन्ट सेट, कटन सर्टको कपडा, कटन पाइन्टको कपडा, पन्चु, ब्यारेट क्याप, टपबुट, स्लीपीङ ब्यागको कपडा, रुकस्याक (झोला) सहित १४ किसिमका सामानको बोलपत्र सूचना निकालिएको छ ।
जसमा अधिकांश सामानको ठेक्का बस्नेतलाई दिनेगरी सेटिङ मिलाइएको छ । गतबर्ष चुस्ताको ठेक्का टोपेन्द्र बीसी, वीरेन्द्र जोशी र श्रवण अग्रवालले पाएका थिए । श्रवण अग्रवाल उनै व्यक्ति हुन्, जसले लिएको बंशजको नागरिकता नै शंकास्पद रहेको तथ्य बाहिर आएको छ ।
यो बर्ष चुस्ता र रुकस्याक ब्यागको ठेक्का पनि बस्नेतलाई नै दिनेगरी सेटिङ भइसकेको ठेकेदारहरुबीचबाटै सूचना लिक भएको छ । चुस्ता, रुकस्याक ब्यागमात्र होइन, बुटसहित करिब ८० प्रतिशत सामान बस्नेतले पाउनेगरी प्रवन्धमा सेटिङ भएको सशस्त्र स्रोत बताउँछ । रुकस्याक ब्यागको स्पेक नै बस्नेतको राखेकाले पनि उनले पाउने निश्चित भएको चर्चा ठेकेदारहरुबीच हुने गरेको छ ।
बीसी, जोशी र अग्रवाललाई कटन पाइन्ट र सर्टको कपडासहितको केही सामानको ठेक्का दिएर चित्त बुझाउनेगरी बस्नेत र प्रबन्धका एसएसपी घिमिरेको सेटिङ मिलिसकेको स्रोतको दाबी छ । कुँवरले मिलन गराएपछि प्रबन्धका एसएसपी घिमिरेलाई भेट्न ठेकेदारहरु ज्ञानेन्द्र बस्नेत र नेपाल टेलिकमका छैटौं तहका कर्मचारी भए पनि ठेक्कापट्टामै तल्लीन टोपेन्द्र बीसी प्रायः गइरहने गरेको सीसीटीभी फुटेज नै गृहमन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै हेर्दा पनि प्रस्ट हुने स्रोत बताउँछ ।
ठेकेदार प्रबन्धका हाकिमलाई बारम्बार भेट्न जानुले सशस्त्रको ठेक्कामा पनि प्रहरीकै जस्तो अपारदर्शी चलखेल भइरहेको दर्साउँछ । ठेक्का सेटिङको विषयमा सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कालीदास धौबजीसँग प्रतिक्रिया लिंदा उनले टेण्डर आह्वान गर्दा पारदर्शिता अपनाइएको भन्दै कुनै सिमित कम्पनीसँग मिल्नेगरी स्पेक नबनाइएको दावी गरे ।