काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गरेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आइतबार आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
उनले चाडपर्वको उमङ्ग र उत्सवको नाममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने परिपाटीका कारण धेरैले अकालमा ज्यान गुमाइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे ।
उनले भने, “चाडपर्व सुरु हुने बित्तिकै मादक पदार्थ सेवन गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ । तर, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भई अकाल मृत्यु हुने क्रम बढ्दो छ, जुन अत्यन्त चिन्ताजनक अवस्था हो । मनोरञ्जनको पर्याबाचीको रूपमा मादक पदार्थलाई लिनु कदापि उचित होइन ।”
एआईजी कार्कीले सबै सवारी चालक, यात्रु र सर्वसाधारणलाई चाडपर्वको अवसरमा सावधानी अपनाउन, ट्राफिक नियमको पालना गर्न र सुरक्षामा खटिने ट्राफिक प्रहरीलाई सहयोग गर्न अपिल गरे।
उनले भने, “सडकमा ट्राफिक प्रहरी तपाईँहरूलाई दुःख दिन होइन, सुरक्षा दिन खटिएका हुन्छन् । नागरिकको कर्तव्य नियम पालना गर्नु र नेपाल प्रहरी, ट्राफिक प्रहरीलाई सहयोग गर्नु हो ।”
उनले आफूले गर्ने व्यवहार र सिकोबाट आगामी पुस्तामा सकारात्मक प्रभाव पर्न सक्ने भएकाले प्रत्येक नागरिकले ट्राफिक सुरक्षालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए।