काठमाडौं । एमाले नेता सूर्य थापाले मुलुकमा अहिले ‘जोकरतन्त्र’ चलिरहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै लोकतन्त्रको मर्म बुझ्न सरकारलाई आग्रह गरेका हुन् ।
अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले गरे पनि नेतृत्वमा भने ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक सुधन गुरुङले नियन्त्रण गरिरहेको थापाको बुझाई छ ।
उनले लेखेका छन्- 'संविधान, कानुन र राजकीय जिम्मेवारीले नचिन्ने संदीग्ध विदेशीका एजेन्टहरू कहिले पानी बोक्दै घुसपैठ गरेर रक्तपात र आगजनी गराउँछन्, कहिले राष्ट्रपतिलाई धम्काउन पुग्छन्, ‘पढ्नु न लेख्नु, जान्नु न बुझ्नु, मन्त्रालयमै पुगेर मन्त्रीको उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरूको हुर्मत लिन्छन्, अर्थमन्त्री जो स्वयम् व्युरोक्रेसीबाट आएका हुन्, उनी हजुर सुदन सर भन्दै जी हजुरीका साथ लाचारी प्रदर्शन गर्छन्।'
तत्कालीन प्रतिनिधिसभा सदस्य थापाले गृहमन्त्री ओमप्रकाश अर्यालको कायैशैलीमाथि पनि प्रश्न उठाएका छन् ।
दलालतन्त्रको उदाहरण दिँदै अगाडि भनेका छन्- 'गृहमन्त्री यस्तै भरौटेलाई विपद्को एक्सपर्ट(विज्ञ) भन्न शरम मान्दैनन्, जनताबाट निर्वाचित र उत्तरदायी भए पो लाज, घिन, डर र शरम लागोस त १ विदशीको खेलौना दलालतन्त्रमा यस्तै हुन्छ । मानौं यो लठैत सुशीला कार्कीको नियुक्तिको तथाकथित सिफारिसकर्ता मिस्टर लुसिफर (डार्कम्यान) को खास नायबी चलाइरहेको छ । यसलाई नियुक्ति दिनुछ भने देउ भरौटे सरकार, तर अनाधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीविहीन आदेशनिर्देश बन्द गर १ यो जोकरतन्त्र होइन, लोकतन्त्र हो।'
काठमाडौं महानगरका मेयर बालेन साहले मुलुकमा अध्याँरो फैलाउन खोजेको पनि थापाको आरोप छ । उनका अनुसार हाल मुलुकमा लोकतन्त्र नभई अहिले जोकरतन्त्र चलिरहेको छ ।