काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा प्रहार गरेका छन् ।
उनले कार्की–अर्याल नेतृत्वको अन्तरिम सरकारले आगामी निर्वाचन गराउने क्षमता र मति दुबै नभएको आरोप लगाएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन्। यिनका आजीवन कामहरूको फेहरिस्तले नै देखाउँछ — यीमध्ये कसैमा पनि लोकतान्त्रिक निर्वाचनप्रति आस्था छैन।'
उनले कार्की सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न दिएको आदेशलाई ‘गैरकानुनी’ भन्दै आलोचना गरे । 'चुनाव गराउने मति भए, नेताहरूलाई पक्राउ गर्न आदेश दिने थिएनन्,' थापाले लेखे, 'लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन।'
थापाका अनुसार चारवटै सुरक्षा निकायका प्रमुखहरूले पनि अन्तरिम सरकारका गलत आदेश खारेज गरिसकेका छन् । उनले भने, 'गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै ।'
साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पुर्याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ) ले हेक्का राख्न जरूरी रहेको उनले बताए ।
थापाले संविधान र कानुन विपरीत कार्य गर्नेहरूलाई जनताले समयमै कारबाही गर्ने चेतावनीसमेत दिए । 'ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, व्यक्तिगत सम्पत्ति र पार्टी कार्यालय जलाउने अपराधीहरूले जहाँ पुगे पनि उन्मुक्ति पाउने छैनन्,' उनले भने, 'राज्यले कानुनअनुसार कारबाही नगरे टोलटोलबाट जनकारबाही हुनेछ।'